Friday, March 13, 2015

Kantipur

सहर झरेका गाउँ फर्के





KASKI फाल्गुन २८ -
पुम्दीभुम्दीका ओमप्रसाद गुरुङ तीन वर्षअघि गाउँ छाडेर पोखरा बसाइँ सरे । अवसर खोज्दै सहर पसेका उनी यति बेला गाउँ फर्किएका छन् । गाउँमा होम स्टे सुरु भएपछि उनलाई गाउँले फर्कायो । तत्कालीन पुम्दीभुम्दी गाउँ हालको पोखरा उपहानगरपालिका २५ वडामा गाभिएको छ । गाउँमा सुरु होम स्टेमा पर्यटक भित्र्याएर आम्दानी गर्न सकिने देखेपछि उनी फिरेका हुन् । पूर्वभारतीय सैनिक गुरुङले गाउँमै पशुपालनसमेत सुरु गरेका छन् । उनीमात्रै होइन, सहर झरेका उनीजस्तै अन्य गाउँले पनि छाडेका घर लिपपोत गरेर बन्द ढोका खोलेर अतिथि सत्कारमा जुटिरहेका छन् । अहिले ३० जनाको हाराहारीमा सहर झरेकाले जग्गा खरिद गरेको र घर फर्कन थालिसकेको गाउँलेले बताए । केहीले होम स्टेका लागि धमाधम कोठा थपिरहेका छन् । एक वर्षअघिदेखि परीक्षणकै लागि व्यक्तिगत रूपमा स्वदेशी तथा विदेशी पर्यटकलाई घर-घरमा ल्याएर राख्न थालेका गाउँलेलेे अहिले औपचारिक रूपमा सेवा सुरु गरेका हुन् ।

पोखराबाट छोटो दूरीमा पुग्न सकिने कालाबाङ घडेरी होम स्टे गाउँमा स्थानीयले आफ्नै बारीमा उत्पादित अर्गानिक तरकारी र खानाको स्वाद चखाउँदै आएका छन् । 'जिल्लाकै छोटो दूरीमा पुगिने यो एक मात्र होम स्टे बनेको छ,' होम स्टे व्यवस्थापन समितिका अध्यक्ष राजबहादुर गुरुङले भने, 'बढीभन्दा बढी पाहुनालाई गाउँमा भित्र्याउन स्वागत सत्कारमा विशेष ध्यान दिएका छौं ।' उनका अनुसार सुरुवातमा १२ घरबाट सेवा सुरु भइसकेको छ । महिनाअघिदेखि गाउँमा आउने पाहुनालाई होम स्टेमा आतिथ्यता दिइसकेका छन् । एउटा घरमा तीनदेखि पाँच जनासम्म पाहुना बसाउन सकिने व्यवस्था छ । वर्ष दिनदेखि गाउँमा स्वदेशी तथा विदेशी विद्यार्थीको अध्ययन टोलीदेखि नजिकको गन्तव्य रोज्नेहरू गाउँमा आउने क्रम चलेको स्थानीय सुकमाया गुरुङले बताइन् ।

२०४८ सालदेखि गाउँमा फाट्टफुट्ट विदेशी पर्यटक व्यक्तिगत सम्पर्कमा आउने गरेका थिए । स्थानीय यामबहादुर गुरुङले पाँच वर्षअघि होम स्टेको अवधारणा ल्याएका हुन् । २२ वर्ष ट्रेकिङ गाइडको काम गरेका उनलाई गाउँमै पर्यटक भित्र्याएर फाइदा लिन सकिन्छ भन्ने लाग्यो । केही व्यवसायीले गाउँमै रिसोर्ट खोल्न नखोजेका पनि हैनन् । 'गाउँ छाडेर गएकाहरूलाई फर्काउन र होम स्टेबाट गाउँमै बसेर आर्थिक लाभ लिने सम्भावना देखियो,' उनले भने, 'यसैले होम स्टेको विकास गर्‍यौं ।'

पोखराबाट गाडीमा आधा घण्टामा पुग्न सकिने छोटो दूरीको होम स्टेमा आउनेहरू अर्गानिक खानासँगै सुन्दर दृश्यावलोकन गर्न पाउँछन् । गाउँबाट १५ मिनेटको उकालो उक्लेपछि १५ सय मिटरको उचाइमा रहेको नियालेडाँडाबाट ऐना हेरेजस्तै हिमाल, फेवातालको पूरा दृश्य, पोखरा सहर, सराङकोट, कास्कीकोट तथा संरक्षित पञ्चासे वन एकै नजरमा देख्न सकिन्छ । यो डाँडो पिकनिक स्पटका लागि पनि गन्तव्य बनेको छ । दिगो स्थानीय विकासमा टेवा पुर्‍याउन होम स्टे कार्यक्रमलाई सबलीकरण गरिएको कार्यक्रमको सहयोगी संस्था जेएमडीईकी फोकल पर्सन मोहेन्दु चेम्जोङले बताइन् ।


प्रकाशित मिति: २०७१ फाल्गुन २९ ०९:३६